सुनवर्षी–३ का आमा समूहको सराहनीय कार्य ।

सुनवर्षी–३ का आमा समूहको सराहनीय कार्य

कोशी आवाज २०८२ कार्तिक ९ गते आइतबार ।

मोरङ, । सुनवर्षी नगरपालिका–३ भेलाहीस्थित राधाकृष्ण भजनकीर्तन समूह अन्तर्गतको आमा समूहले तिहारको अवसरमा समाजसेवामूलक कार्य गर्दै सबैको प्रशंसा कमाएको छ।

गत कार्तिक ३ गते (लक्ष्मीपूजाको दिन) गाउँमा देउसी–भैलो खेलेर करिब ३० हजार रुपैयाँ संकलन गरिएको थियो। उक्त सम्पूर्ण रकम समूहले मायाघर नेपाल, इटहरी–२, सुनसरीमा आश्रय लिएर बस्दै आएका दिदीबहिनीहरूलाई सहयोग गरेको हो।

सामान्यतया गाउँघरमा देउसी–भैलोबाट उठेको रकम वनभोज वा मनोरञ्जनका कार्यमा खर्च गरिन्छ। तर, यस समूहले उक्त रकम सामाजिक र मानवतामूलक कार्यमा खर्च गरेर एक अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।

समूहले संकलित रकमबाट चामल, तेल, भुजा, चिउरा, आलु, जुस (फ्रुटी), चाउचाउ, विभिन्न फलफूल लगायतका खाद्यान्न सामग्री खरिद गरी मायाघर नेपालमा हस्तान्तरण गरेको हो। साथै, समूहकी सदस्य गोमा पोख्रेलले व्यक्तिगत रूपमा केही कपडा पनि सहयोग गरेकी थिइन्।

सहयोग कार्यक्रममा मायाघर नेपालका व्यवस्थापन समितिले समूहका सदस्यहरूलाई खादा ओढाएर सम्मान गर्दै हार्दिक आभार व्यक्त गरेको थियो।

यो कार्यले सामाजिक उत्तरदायित्व र मानवता प्रकट गर्ने उदाहरणीय पहलको रूपमा सराहना पाएको छ ।