अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतवार राति आएको भूकम्पमा परेर मर्नेको संख्या ६१०

अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतवार राति आएको भूकम्पमा परेर मर्नेको संख्या ६१० पुगेको तालिबानको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पका कारण १३ सयभन्दा बढी मानिस घाइते भएका छन् ।

नांगरहार र कुनार प्रान्तमा स्थानीय समयअनुसार राति ११ः४७ मा भूकम्प गएको थियो ।

आठ किलोमिटरको गहिराइबाट भूकम्प आएको हो । ६ म्याग्निच्युडको भूकम्प गएको हो ।

कम्तीमा तीनवटा परकम्प गएको बताइएको छ । ती परकम्पहरू ४.५ देखि ५.२ म्याग्निच्युडका थिए ।

एएफपी समाचार संस्थाका अनुसार, राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म पनि भूकम्पका झड्काहरू अनुभव गरिएका थिए ।

भूकम्पबाट सबभन्दा बढी क्षति कुनारमा पुगेको छ । त्यहाँ ९० प्रतिशत पहाडी भूभाग छ ।

भूकम्पले क्षति गरेको स्थानमा पुग्ने सडकहरू साँघुरा छन् । तीमध्ये कतिपय सडक पहिरोका कारण अवरुद्ध छन् ।

आफूसँग सीमित स्रोतसाधन भएकाले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग तालिबाले सहयोग मागेको छ । हेलिकप्टर उपलब्ध भएमा भूकम्पपीडितहरूलाई राहत र उद्धार गर्न सकिने तालिबानको भनाइ छ ।