हाजी आँखा अस्पतालका सञ्चालक गुप्तामाथि १ करोड ५८ लाख भुक्तानी नगरेको आरोप

हाजी आँखा अस्पतालका सञ्चालक गुप्तामाथि १ करोड ५८ लाख भुक्तानी नगरेको आरोप

विराटनगर । विराटनगरस्थित हाजी आँखा अस्पतालका सञ्चालक मन्नुकुमार गुप्तामाथि शेयर बिक्रीबापत करिब १ करोड ५८ लाख रुपैयाँ भुक्तानी नगरेको आरोप लागेको छ।अस्पतालका अन्य शेयरधनीहरूले शेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि रकम नपाएको भन्दै पत्रकार सम्मेलनमार्फत कानुनी उपचार खोज्ने बताएका छन्। उनीहरूका अनुसार डा. गुणराज कट्टेलको ५ लाख ७८ हजार, जेउल कमरको १९ लाख ६२ हजार ६०७, राजेश शाहको ३० लाख ६३ हजार ४०० र मो. अतहर अन्सारीको ५० लाख ८० हजार १५६ रुपैयाँ भुक्तानी हुन बाँकी छ।शेयरधनीहरूले गत जेठमा दिइएको चेक साट्न खोज्दा खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको बताएका छन्। मो. अतहर अन्सारीको पक्षमा गत असोज २ गते उच्च अदालत विराटनगरले फैसला गरे पनि हालसम्म रकम प्राप्त नभएको उनीहरूको गुनासो छ।पीडित शेयरधनीहरूले अदालतको आदेशपछि कालोसूचीमा पर्नबाट जोगिन कुमारी बैंकमार्फत प्रक्रिया अघि बढाइएको र बैंकका कर्मचारीको मिलेमतोमा निवेदन फिर्ता गराइएको आरोप लगाएका छन्। उनीहरूले बैंकका कर्मचारीमाथि समेत छानबिनको माग गर्दै सोमबार प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।यता सञ्चालक मन्नुकुमार गुप्ताले भने आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको दाबी गरेका छन्। उनले शेयरबापतको सम्पूर्ण रकम चुक्ता भइसकेको दाबी गर्दै आफूलाई बदनाम गर्ने उद्देश्यले झुटा आरोप लगाइएको बताएका छन्। विषय अदालतमा विचाराधीन रहेको भन्दै आफूसँग आवश्यक प्रमाण सुरक्षित रहेको उनको भनाइ छ।