नेपालले हालसम्मकै बढी विद्युत् निर्यात, वार्षिक ८६ अर्ब आम्दानीको अनुमान ।

नेपालले हालसम्मकै बढी विद्युत् निर्यात, वार्षिक ८६ अर्ब आम्दानीको अनुमान ।

कोशी आवाज २०८२ भदौ १२ गते बिहीबार ।

विराटनगर । नेपालले हालसम्मकै बढी परिमाणमा विद्युत् निर्यात गर्दै नयाँ इतिहास रचेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई दैनिक १ हजार १ सय ३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।

यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ । यस अवधिमा करिब ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री हुने अनुमान गरिएको छ । यस उपलब्धिले ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यलाई थप बल पुर्‍याउने मन्त्री खड्काले बताएका छन् ।

यसैबीच सरकारले पहिलो पटक दीर्घकालीन ऊर्जा मार्गचित्र–२०८१ सार्वजनिक गरेको छ । उक्त मार्गचित्रले २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना रहेको छ । भारतलाई १० हजार मेगावाट र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गर्ने ठोस योजना तयार भएको मन्त्री खड्काले जानकारी दिए ।

‘सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धतामार्फत आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातमा क्षेत्रीय शक्ति राष्ट्र बनाउने हाम्रो लक्ष्य अवश्य पूरा हुनेछ,’ मन्त्री खड्काले बताए ।

नेपालको ऊर्जा निर्यातमा भएको यो नयाँ उपलब्धिलाई अर्थतन्त्र सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।