

एमाले मोरङको बैठकमा उपसचिव उषा झाको उग्र व्यवहार ।
कोशी आवाज २०८२ भदौ १० गते मङ्गलबार ।
मोरङ रङ्गेली । नेकपा (एमाले) मोरङकी उपसचिव उषा झा ठाकुरले जिल्ला कमिटीको विस्तारित बैठकमा उग्र रुप देखाएकी छिन्। सोमबार रंगेलीमा बसेको बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा उनले असन्तोषजनक व्यवहार देखाउँदै झम्टिन खोजेकी थिइन्।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहसँग निकट मानिने उपसचिव झाले जिम्मेवार पदमा रहेर संयमता अपनाउनु पर्ने स्थानमा गलत हर्कत प्रकट गरेको भण्डारी समूहकै एक जिल्ला सदस्यले बताए।
स्रोतका अनुसार, बैठकमा सहभागी अधिकांश सदस्यहरूले “पूर्व राष्ट्रपतिले सम्मानित ढंगले बस्नुपर्ने तर सक्रिय राजनीतिमा फर्किन नमिल्ने” धारणा राखेका थिए। सो धारणा प्रस्तुत भइरहेका बेला उपसचिव झा असन्तुष्ट हुँदै बोल्ने सदस्यहरूमाथि आक्रामक रुपमा जाइलाग्न खोजेकी थिइन्।
“अनुशासित कार्यकर्ताले पार्टी बैठकमै आफ्ना विचार राख्ने हो। तर उहाँ त पार्टीको कामभन्दा गुटगत गतिविधिमा बढी सक्रिय हुनु भएको देखियो। बोल्ने सदस्यमाथि नै कुटपिट गर्न खोजेझैँ गरी जाइलाग्दा हामी अचम्मित भयौँ,” एक जिल्ला सदस्यले बताए।
स्थिती तीव्र बन्दै गएपछि अध्यक्ष अजम्बर राईले उनलाई तत्काल शान्त रहन र आफ्नो स्थानमा फर्किन निर्देशन दिएका थिए। निर्देशनपछि उनले बैठकमै फर्किएर बसेको सहभागीहरूले बताएका छन्।