जेन–जी राज’मा पनि रोकिएन भ्रष्टाचार : रंगेलीको साढे चार करोडको टेन्डर ‘लक्ड’
जेन–जी राज’मा पनि रोकिएन भ्रष्टाचार : रंगेलीको साढे चार करोडको टेन्डर ‘लक्ड’

कोशी आवाज २०८२ असोज ३१ गते शुक्रबार ।

मोरङ, रंगेली । भ्रष्टाचार अन्त्यको मागसहित भएको ‘जेन–जी आन्दोलन’को केही सातामै रंगेली नगरपालिकामा पुनः अनियमितता देखिएको छ।
नगरपालिकाले करिब चार करोड ४० लाख रुपैयाँ बराबरको मोडुलर ओटी एन्ड पोस्ट–अपरेटिभ वार्ड सेटअप खरिदका लागि आह्वान गरेको टेन्डरमा ‘लक्ड स्पेसिफिकेशन’ र कृत्रिम प्याकेजिङका कारण पारदर्शिता र प्रतिस्पर्धा दुबैमा प्रश्न उठेको छ।

टेन्डरमा फरक–फरक १६ प्रकारका उपकरण एउटै प्याकेजमा बाँधेर राखिएको छ, जसले स्वतन्त्र प्रतिस्पर्धा रोक्ने र निश्चित व्यापारी समूहलाई फाइदा पुर्याउने आशंका बढाएको छ।

‘इन्डोस्कोपी सेट’, ‘डिफिब्रिलेटर’ र ‘इलेक्ट्रो–सर्जिकल युनिट’ जस्ता उपकरणका मापदण्ड विशेष कम्पनीका मोडलसँग मात्रै मिल्नेगरी तोकिएका छन्। साथै, अनुभवका रूपमा “कम्तीमा १० वटा मोडुलर ओटी सेटअप गरेको कम्पनी मात्र सहभागी हुन पाउने” सर्त राखिएकाले साना कम्पनी स्वतः बाहिरिएका छन्।

नगरप्रमुख दिलीप अग्रवालले प्रि–बिड मिटिङपछि आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन्।
टेन्डर बुझाउने अन्तिम मिति कार्तिक १२ गते (अक्टोबर २९) तोकिएको छ।

विशेषज्ञहरूको भनाइमा, यो ‘लक्ड टेन्डर’ प्रणालीगत भ्रष्टाचारको ताजा उदाहरण हो, जसले सुशासनका नारा अझै पनि व्यवहारमा नआएको देखाउँछ।