

ओली नेतृत्वको सरकार असफल, कांग्रेस छड्के किनाराको साक्षी बन्यो : प्रभु साह
कोशी आवाज २०८२ बैशाख १८ गते बिहिवार
काठमाडौ। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा फैलिएको बेथिति, भ्रष्टाचार र अनियमितताको नेपाली कांग्रेसले मौन साथ दिइरहेको आरोप लगाएका छन्।
सुनसरीको इनरुवामा आजपा निकट आम ट्रेड युनियन फेडरेसनद्वारा आयोजित १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार असफल भएको र कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरे। उनले गभर्नर नियुक्ति जस्तो सामान्य विषयमा समेत निर्णय गर्न नसक्ने सरकारबाट मुलुक अगाडि बढ्न नसक्ने बताए।
प्रधानमन्त्रीको स्टन्टपूर्ण शैलीले भारत र चीनसहितका छिमेकीहरूसँगको वैदेशिक सम्बन्ध समेत बिग्रिएको उल्लेख गर्दै साहले सरकारले बिचौलिया र भगौडा वर्गको पक्षमा काम गरिरहेको आरोप लगाए।
विदेशी भूमिमा श्रमिकहरूले अधिकारविहीन जीवन बिताइरहेका बेला सरकार मौन बस्नु लज्जास्पद भएको भन्दै, ट्रेड युनियन अधिकार नदिने देशमा नेपाली मजदुर नपठाउन उनले माग गरे। उनले नेपालको उद्योग क्षेत्रमा नेपाली मजदुरले रोजगारी नपाउने तर विदेशीलाई प्राथमिकता दिइनु अस्वीकार्य भएको बताए।
घरेलु कामदारको हितमा कानून निर्माणमा ढिलाइ नगर्नुपर्ने भन्दै साहले सरकारलाई सचेत गराए। कार्यक्रममा आजपाका अन्य नेताहरू तिलक थापा, बिल्टू यादव, जुरीलाल मोची, धनकुमारी मगर, प्रमोदराज घिमिरे लगायतको सहभागिता रहेको थियो। काठमाडौं र पोखरामा समेत आजपाले श्रमिक दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ।