कम्युनिस्ट नेता वासिम आलमको टिप्पणी : ‘पार्टीभन्दा व्यक्ति ठूलो होइन, अब समय नयाँ पुस्ताको हो’ ।
कोशी आवाज २०८३ असोज २० गते मङ्गलबार ।
विराटनगर । कम्युनिस्ट नेता वासिम आलमले पार्टीभित्र अनुशासन, विधि र सामूहिक नेतृत्वको मर्यादा कायम गर्नुपर्ने बताएका छन्। उनले पार्टीको निर्णयविपरीत अलग–अलग नाम र नारामा अभियान सञ्चालन गर्ने प्रवृत्तिले संगठन बलियो नभई कमजोर बनाउने टिप्पणी गरेका छन्।
आलमले सामाजिक सञ्जालमार्फत पार्टी आफूलाई मन लागेको गतिविधि गर्ने स्वतन्त्र मञ्च नभई नीति, निर्णय, विधि र अनुशासनमा चल्ने राजनीतिक संस्था भएको उल्लेख गरेका छन्। पार्टीको निर्णय स्वीकार गर्नु, सामूहिक नेतृत्वको मर्यादा कायम गर्नु र निर्धारित विधिभित्र रहेर गतिविधि सञ्चालन गर्नु हरेक नेता तथा कार्यकर्ताको दायित्व भएको उनको भनाइ छ।
उनले पार्टीमै बसेर पार्टीको नीति तथा निर्णयविपरीत अभियान सञ्चालन गर्ने हो भने त्यस्तो गतिविधिबारे स्पष्ट निर्णय लिनुपर्ने बताएका छन्। “अभियान रोक्नुस् र पार्टीको विधि मान्नुस्, होइन भने आफ्नै बाटो रोज्नुस्,” आलमले भनेका छन्।
आलमले नेपालको कम्युनिस्ट आन्दोलन अब केही व्यक्तिको नेतृत्वमा मात्र निर्भर नरहेको पनि बताएका छन्। नयाँ पुस्ताका हजारौँ–लाखौँ कार्यकर्ता नेतृत्व लिन र आन्दोलनलाई अगाडि बढाउन तयार रहेको भन्दै उनले पुस्तान्तरण र नेतृत्व हस्तान्तरणलाई सहज रूपमा स्वीकार गर्ने समय आएको बताएका छन्।
विगतमा नेताहरूले गरेको संघर्ष, त्याग र योगदानको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले योगदानको सम्मान गर्नु वर्तमानमा अनुशासन उल्लङ्घन गर्ने छुट दिनु नभएको स्पष्ट पारेका छन्।
“पार्टीभन्दा व्यक्ति ठूलो होइन, संगठनभन्दा अभियान ठूलो होइन र विधिभन्दा कोही माथि हुँदैन,” आलमले भनेका छन्।
उनले इतिहासमा आफ्नो भूमिका स्थापित गरिसकेका नेतृत्वले अब नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिँदै “अब समय नयाँ पुस्ताको हो” भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।