सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित ।
कोशी आवाज २०८३ असोज १९ गते सोमबार ।
बिराटनगर । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा दाहाललाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ।
दाहालले सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण तथा संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीतको कार्य गरेको भन्दै कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरिएको थियो।
उक्त अभियोगमाथि जाँचबुझ गर्न गृह मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरेको हो। मन्त्रालयले जाँचबुझका लागि अधिकृतसमेत तोकेको छ। तोकिएको अधिकृतले तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
गृह मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।
मन्त्रालयले कानुनविपरीत हुने कुनै पनि गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।
गृह मन्त्रालयले विधिको शासन, कानुनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति सरकार प्रतिबद्ध रहेको जनाएको छ।