क्रमभंग गर्ने पालो अब गगनजी र रविजीको हो, तपाईंहरूले गर्नुस् : प्रचण्ड ।

क्रमभंग गर्ने पालो अब गगनजी र रविजीको हो, तपाईंहरूले गर्नुस् : प्रचण्ड ।

कोशी आवाज २०८३ असोज १८ गते आइतबार ।

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब राजनीतिक ‘क्रमभंग’ गर्ने पालो नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा आफूले पटक–पटक क्रमभंग गरेको स्मरण गर्दै अहिले गगन र रविले नयाँ राजनीतिक अभ्यास अघि बढाउनुपर्ने बताएका हुन्।

“पहिला मैले धेरै क्रमभंग गर्थें। अहिले गगनजीले क्रमभंग गर्नुभएको छ। सायद मलाई क्रमभंग गर्न गाह्रो–गाह्रो भयो कि, अब पालो गगनजीको, अब पालो रविजीको। तपाईंहरूले क्रमभंग गर्नुस्,” उनले भने।

प्रचण्डले रवि लामिछाने आफ्नो नेतृत्वको सरकारमा गृहमन्त्री र गगन थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै कांग्रेसलाई थप उचाइमा लैजान आग्रह गरे।

उनले गगन थापालाई कांग्रेसको नेतृत्वमा ल्याउन विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायत नेताहरूको समेत भूमिका रहेको बताए। गगनले कांग्रेसमा क्रमभंग गरेर देखाएको उल्लेख गर्दै प्रचण्डले पार्टीलाई अझ उचाइमा पुर्‍याउन आग्रह गरे।

प्रचण्डले नयाँ पुस्ताले पुरानो पुस्ताका नेताहरूलाई अपमान गर्ने प्रवृत्ति देखाउन नहुने बताए। लोकतन्त्र र शान्तिका पक्षधर शक्तिहरूले एकअर्कालाई सम्मान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।

“हामी सबै मिलेर देश चलेको हुन्छ,” उनले भने।

संविधानलाई सुदृढ गर्ने विषयमा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रचण्डले केही विषय अझै टुंगो लगाउन बाँकी रहेको बताए। ती विषय समयमै टुंग्याउन नसकिए देश अर्कैतर्फ जान सक्ने उनले चेतावनी दिए।