अखिल नेपाल महिला संगठन कोशी प्रदेशको एकता बैठक सम्पन्न, १७५ सदस्यीय प्रदेश कमिटी घोषणा
कोशी आवाज २०८३ असोज १३ गते मंगलबार ।
विराटनगर । अखिल नेपाल महिला संगठन कोशी प्रदेशको एकता बैठक सम्पन्न भएको छ। बैठकमा १७५ सदस्यीय प्रदेश कमिटी घोषणा गर्नुका साथै पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन्।
अखिल नेपाल महिला संगठनकी इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य जयन्ती राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संगठनकी कोशी प्रदेश संयोजक लता न्यौपानेले अध्यक्षता गरेकी थिइन्। कार्यक्रमको सञ्चालन चित्रकला रसाइलीले गरेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले संविधानले महिलाका अधिकार सुनिश्चित गरे पनि वर्तमान सरकार संघीयताको मर्मअनुसार अघि नबढेको आरोप लगाइन्। प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै लोकतन्त्र र संघीयता पक्षधर समान विचार भएका वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताइन्।
उनले कोशी प्रदेशलाई अस्थिरताबाट जोगाउन प्रदेश सरकारमा नेकपा सहभागी भएको दाबीसमेत गरिन्।
त्यस्तै, प्रदेश र स्थानीय तह जनताको घरदैलोमा सेवा प्रवाह गर्ने नजिकका सरकार भएकाले दुईतिहाइको बलमा प्रदेश संरचनामा हेरफेर गर्न नहुने संयोजक न्यौपानेले बताइन्। प्रदेशमा महिलाका अधिकार प्रभावकारी रूपमा सुनिश्चित गर्न तथा प्रदेश संरचनालाई मजबुत बनाउन आगामी निर्वाचनमा नेकपालाई बहुमत दिलाउने गरी कार्यक्षेत्रमा सक्रिय हुन उनले संगठनका नेता तथा कार्यकर्तालाई आह्वान गरिन्।
कार्यक्रममा नेकपा प्रदेश सह–इन्चार्ज सावित्रीकुमार काफ्लेसहित विमला सुवेदी, दामा शर्मा, रामकुमारी चौधरी, विद्या चाम्लिङ, दुर्गा जयन्ती राई, खिनु लुंवा, जीवन आचार्य, गीता तिम्सिना, गम्बु शेर्पा, शुसिला घिमिरे ‘सामना’, सीता थेवे, सरस्वती पोखरेललगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको गठन तथा जनवर्गीय संगठनहरूको एकीकरणबारे समेत जानकारी दिइएको थियो। **सानु कार्की बस्नेत ‘क्रान्तिटिका’**का अनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका वामपन्थी घटकहरूको एकीकरणपछि नेपाली कम्युनिष्ट पार्टी गठन भएको र त्यसअन्तर्गतका अनेमसंघ (क्रान्तिकारी) तथा अनेमसंघ (समाजवादी) लगायतका संगठनहरूको एकीकरणपछि अखिल नेपाल महिला संगठन गठन गरिएको हो।
एकताको सन्देश पार्टी पंक्ति, जनवर्गीय संगठन तथा जनस्तरसम्म पुर्याउने उद्देश्यले प्रदेशस्तरीय एकता बैठक आयोजना गरिएको कार्की बस्नेतले जानकारी दिइन्। उनका अनुसार केन्द्रीय समिति बैठकबाट पार्टी नियमावली तथा आचारसंहिता–२०८३ जारी भइसकेको छ भने पार्टीको अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण तथा वितरणको कामसमेत भइरहेको छ।