विपद् जोखिम कायमै, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

विपद् जोखिम कायमै, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

कोशी आवाज २०८३ असोज ११ गते आइतबार ।

बिराटनगर । प्रधानमन्त्रीले असोज ८ गतेदेखि देशका विभिन्न क्षेत्रमा देखिएको बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्रीका अनुसार हालसम्म विभिन्न जिल्लामा विपद्का घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि प्रधानमन्त्रीले बताएका छन्।

बाढी, पहिरो, डुबान र चट्याङलगायतका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएको जानकारी दिँदै प्रधानमन्त्रीले सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणालीलगायतका पूर्वाधारमा समेत क्षति पुगेको बताएका छन्।

विपद्को अवस्थामा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उनले सुरक्षाकर्मीहरू बेपत्ता नागरिकको खोजी, बाढीमा फसेका नागरिक तथा पशुचौपायाको उद्धार र प्रभावित परिवारको व्यवस्थापनमा निरन्तर खटिरहेको बताए। स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए।

बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्ग लगायत विभिन्न सडक प्रभावित भएका छन्। नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्गसमेत बन्द गरिएको प्रधानमन्त्रीको भनाइ छ। क्षतिग्रस्त सडक तथा पुलको मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकार सक्रिय रहेको उनले बताए।

बाढीका कारण राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। टावरमा क्षति पुगेका कारण ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने जोखिमका कारण ६९५.२ मेगावाट क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक रूपमा रोकिएको जनाइएको छ। विद्युत् आपूर्ति पुनःस्थापनाका लागि प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

महाकाली, सेती, नारायणी र कमला नदीमा पानीको बहाव उच्च रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन तथा केही जोखिमयुक्त सडकमा समेत आवागमन प्रभावित भएको जनाइएको छ।

प्रधानमन्त्रीले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्दै संकटमा परे निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि निगरानी भइरहेको बताउँदै प्रधानमन्त्रीले संकटका बेला संयम, धैर्य र एकताका साथ अघि बढ्न सबैलाई आग्रह गरेका छन्।

“सुरक्षित रहौँ, सतर्क रहौँ।”