असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह प्रधानमन्त्री बालेन्द्र साह
कोशी आवाज २०८३ असोज ७ गते बुधबार ।
बिराटनगर । मौसम विज्ञान विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ।
पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ। त्यस्तै कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा थप सावधानी अपनाउनुपर्ने जनाइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै पानी परिरहेको समयमा तथा रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, नदी तथा खोलानजिक र पहिरोको जोखिम भएका क्षेत्रमा नजान आग्रह गरिएको छ।
त्यस्तै ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजनामा रहेकालाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न अनुरोध गरिएको छ।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत आग्रह गरिएको छ।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सबै नागरिकलाई सचेत र सुरक्षित रहन अनुरोध गरिएको छ।