प्रधानमन्त्री वालेन्द्र शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट ।

प्रधानमन्त्री वालेन्द्र शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट ।

कोशी आवाज २०८३ भदौ ३१ गते बुधबार ।

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो। उहाँले रसुवामा आएको बाढीबाट नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता विपद्को जोखिम बढिरहेको बताउनुभयो।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा प्रभाव न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। साथै, नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने बताउँदै नेपालले अमेरिकी लगानीलाई स्वागत गर्ने धारणा राख्नुभयो।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो।

उहाँले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका तत्पर रहेको जानकारी गराउनुभयो।