रवि लामिछाने : प्रधानमन्त्री र मेरो कामको स्पष्ट बाँडफाँड भएको छ
कोशी आवाज २०८३ भदौ ३१ गते बुधबार ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कामको स्पष्ट बाँडफाँड भएको बताएका छन्। उनका अनुसार सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहले र पार्टी सञ्चालनको जिम्मेवारी आफूले सम्हाल्ने गरी जिम्मेवारी विभाजन गरिएको हो।
लामिछानेले प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनलाई बेवास्ता नगरेको दाबी गर्दै उनी निरन्तर बैठकमा सहभागी भइरहेको र प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा स्थानीय राजनीतिक नेतृत्वसँग समन्वय गरिरहेको बताए।
‘हिजोको अभ्यास र आजको अभ्यासमा पक्कै फरक छ। अहिले पार्टीको सभापति र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने कुरा स्पष्ट छ। त्यही कुरा भइरहेको छ,’ उनले भने।
प्रधानमन्त्री र आफूबीच समस्या रहेको देखाउने गरी प्रश्न नगर्न सञ्चारकर्मीलाई आग्रह गर्दै लामिछानेले भने, ‘हामीले काम बाँडेका छौं। हामीबीच कुनै समस्या छ कि भन्ने प्रश्न डम्प गर्नुभए हुन्छ।’
उनले सबैले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको र सम्बन्धित पक्षसँग आवश्यक समन्वय भइरहेको बताए। सरकारले उद्धारमा तदारुकता देखाएको दाबी गर्दै उनले अहिले राहत वितरणको काम भइरहेको जानकारी दिए।
भौगोलिक जटिलताका कारण राहत वितरणमा केही कठिनाइ र कमीकमजोरी हुन सक्ने उनको भनाइ छ। ‘हरेक दिन हरेक जिम्मेवार मान्छेले नतिजामुखी काम गरिरहेका छन्,’ उनले भने।
सरकारमा गुण्डागर्दी चलिरहेको भन्ने आरोपबारे भने उनले सम्बन्धित माननीयलाई नै सोध्नुपर्ने बताए। सरकारका कामकारबाही सार्वजनिक भइरहेको उल्लेख गर्दै लामिछानेले लोकतान्त्रिक पार्टी भएकाले व्यक्तिपिच्छे कार्यशैली फरक हुन सक्ने र कतिपय विषयमा असन्तुष्टि हुन सक्ने बताए।