भ्रष्टाचार मुद्दामा वीरगन्जका निलम्बित मेयर राजेशमान सिंहले पाए सफाइ ।
कोशी आवाज २०८३ भदौ २३ गते सोमबार
बिराटनगर । वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।
सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई नै सफाइ दिएको हो।
अदालतको आदेशसँगै सिंहको निलम्बन फुकुवा भई मेयर पदमा पुनर्बहाली हुने बाटो खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहले अर्काको छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी झूटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा गत जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि कानुनी व्यवस्थाअनुसार सिंह मेयर पदबाट निलम्बित भएका थिए।
अख्तियारले सिंहसँगै वीरगन्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल लगायतलाई प्रतिवादी बनाएको थियो।
सिंहले भने सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराई आफ्नो दोस्रो श्रीमती भएको र उक्त छोरी आफ्नै भएको दाबी गर्दै आएका थिए।