हरेक घरमा आधारभूत OTC औषधि र प्राथमिक उपचार सामग्री राख्न फार्मासिस्टको सुझाव ।

हरेक घरमा आधारभूत OTC औषधि र प्राथमिक उपचार सामग्री राख्न फार्मासिस्टको सुझाव ।

कोशी आवाज २०८३ भदौ २७ गते शनिबार

बिराटनगर  । स्वास्थ्य आपत्कालीन अवस्था आउनुअघि नै घरमा आवश्यक औषधि तथा प्राथमिक उपचार सामग्री तयारी अवस्थामा राख्न स्वास्थ्य विज्ञले सुझाव दिएका छन्। रातको समयमा अचानक ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने, एलर्जी हुने वा सामान्य चोटपटक लाग्ने अवस्थामा तत्काल स्वास्थ्य संस्था पुग्न कठिन हुन सक्ने भएकाले घरमै आधारभूत स्वास्थ्य सामग्री राख्नु उपयोगी हुने बताइएको हो।

फार्मासिस्ट तथा एम.फार्म (फार्मास्युटिकल केयर) विद्यार्थी सुसान दाहालका अनुसार घरमा आवश्यक ओटीसी (Over-the-Counter) औषधि तथा प्राथमिक उपचार सामग्रीसहितको ‘मिनी हेल्थ किट’ तयार राख्नु स्वास्थ्य सुरक्षाका दृष्टिले महत्वपूर्ण हुन्छ।

उनका अनुसार ओटीसी औषधि चिकित्सकको प्रिस्क्रिप्सनबिना खरिद गर्न सकिने औषधि भए पनि त्यसको अर्थ जथाभावी प्रयोग गर्न मिल्ने भन्ने होइन। गलत औषधि, गलत मात्रा वा आवश्यकताभन्दा लामो समयसम्म प्रयोग गर्दा स्वास्थ्यमा थप जटिलता आउन सक्ने भएकाले औषधिको विवेकपूर्ण प्रयोग आवश्यक हुन्छ।

सामान्य ज्वरो तथा दुखाइका लागि प्यारासिटामोल, पखाला तथा बान्ताका कारण हुने डिहाइड्रेसन रोक्न जीवनजल (ORS), सामान्य एलर्जीका लक्षणमा चिकित्सकीय सल्लाहअनुसार सेटिरिजिन वा लोराटाडिन जस्ता औषधि घरमा उपयोगी हुन सक्ने दाहालले बताएकी छन्।

त्यस्तै, एसिडिटी तथा अपचका लागि एन्टासिडलगायत औषधि प्रयोग गर्न सकिए पनि समस्या बारम्बार दोहोरिएमा स्वयं औषधि सेवन गरिरहनुभन्दा स्वास्थ्यकर्मीको परामर्श लिनुपर्ने उनको सुझाव छ।

घरमा औषधिसँगै प्लास्टर, ब्यान्डेज, स्टेराइल गज, मेडिकल टेप, एन्टिसेप्टिक सामग्री, कैंची, चिम्टा, डिस्पोजेबल ग्लोभ्स र कोल्ड प्याक जस्ता प्राथमिक उपचार सामग्री राख्न पनि सुझाव दिइएको छ। यस्ता सामग्रीले सामान्य चोटपटक तथा साना घाउको प्रारम्भिक व्यवस्थापनमा सहयोग पुर्‍याउनेछन्।

छालाका सामान्य समस्या, कीराको टोकाइ वा चिलाइका लागि क्यालामाइन लोशन तथा केही अवस्थामा अन्य उपयुक्त सामग्री प्रयोग गर्न सकिने भए पनि औषधिको प्रयोगअघि फार्मासिस्ट वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्नेमा जोड दिइएको छ।

घरमा डिजिटल थर्मोमिटर राख्नु आवश्यक रहेको र वृद्धवृद्धा वा दीर्घरोगी सदस्य भएका परिवारमा पल्स अक्सिमिटर समेत उपयोगी हुन सक्ने बताइएको छ।

यसैबीच, घरमा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सञ्चित गरेर राख्ने वा आफूखुसी प्रयोग गर्ने अभ्यास नगर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। गलत वा अधुरो एन्टिबायोटिक प्रयोगले एन्टिमाइक्रोबियल रेजिस्टेन्स (AMR) बढाउने जोखिम रहेको बताइएको छ।

त्यस्तै, म्याद नाघेका, लेबल नभएका तथा चिकित्सकले बन्द गर्न भनेका पुराना औषधि घरमा नराख्न र सबै औषधि बालबालिकाको पहुँचभन्दा टाढा सुरक्षित स्थानमा राख्न सुझाव दिइएको छ।

स्वास्थ्य विज्ञका अनुसार घरायसी स्वास्थ्य किटले सामान्य समस्याको प्रारम्भिक व्यवस्थापनमा सहयोग गरे पनि यो चिकित्सक वा अस्पतालको विकल्प भने होइन। लामो समयसम्म ज्वरो रहनु, अत्यधिक पखाला वा बान्ता हुनु, सास फेर्न गाह्रो हुनु, छाती दुख्नु, अनुहार वा घाँटी सुन्निनुजस्ता गम्भीर लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्नेमा जोड दिइएको छ।

स्वास्थ्य आपत्कालीन अवस्था आउनुअघि आवश्यक तयारी गर्नु नै बुद्धिमानी हुने भन्दै घरमा आधारभूत औषधि, प्राथमिक उपचार सामग्री र स्वास्थ्य निगरानीका उपकरण व्यवस्थित रूपमा राख्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।