जहदा–३ बाट चोरी भएका मूर्ति भारतमा फेला ।
कोशी आवाज २०८३ भदौ २२ गते सोमबार ।
विराटनगर । मोरङको जहदा गाउँपालिका–३ स्थित श्री रामजानकी मन्दिरबाट चोरी भएका दुई वटा पित्तलका मूर्ति भारतमा फेला परेका छन्।
मन्दिरबाट चोरी भएका मूर्ति खोजीका लागि विगत पाँच दिनदेखि जहदा–३ का हिन्दू–मुस्लिम युवाहरूले संयुक्त रूपमा अभियान सञ्चालन गर्दै आएका थिए। युवाहरूको निरन्तर खोजी तथा प्रयासपछि भारतको डोरिया भन्ने स्थानबाट दुवै मूर्ति फेला परेको जनाइएको छ।
मूर्ति फेला परेपछि स्थानीयवासी तथा युवाहरूमा खुसी छाएको छ। धार्मिक सद्भाव र सामाजिक एकताको उदाहरण प्रस्तुत गर्दै हिन्दू–मुस्लिम युवाहरूले संयुक्त रूपमा गरेको प्रयासको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ।
फेला परेका मूर्तिलाई सोमबार बिहान विधिवत् पूजा–आराधना गरी श्री रामजानकी मन्दिरमा पुनःस्थापना गर्ने तयारी गरिएको जनाइएको छ।