अर्किड पब्लिक स्कुलमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थी र अभिभावकसहित ४ सय बढी लाभान्वित ।

अर्किड पब्लिक स्कुलमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थी र अभिभावकसहित ४ सय बढी लाभान्वित ।

कोशी आवाज २०८३ भदौ ८ गते सोमबार ।

‎विराटनगर। विराटनगर–१० स्थित अर्किड पब्लिक स्कुलले आइतबार विद्यार्थीहरूको नतिजा वितरण कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ।

‎विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै एउटै अवसरमा शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो।

‎नतिजा वितरण कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धि सार्वजनिक गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन तथा सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

‎त्यसैगरी, विराट टिचिङ अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट विद्यार्थी तथा अभिभावक गरी करिब ४ सय जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा बालरोग, आँखा, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

‎विद्यालयका प्रिन्सिपल मनीष भट्टराईले विद्यार्थीको शैक्षिक विकाससँगै स्वास्थ्य र समग्र व्यक्तित्व विकासलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यार्थीको हितमा यस्ता उपयोगी तथा जनमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

‎विद्यालयका भाइस प्रिन्सिपल पी.के. कामतले विद्यार्थीको सफलतामा अभिभावक र शिक्षकको महत्वपूर्ण भूमिका रहने बताउँदै शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा विद्यालयले आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो।

‎नतिजा वितरणसँगै स्वास्थ्य शिविर आयोजना गर्ने विद्यालयको पहललाई अभिभावक तथा विद्यार्थीले सकारात्मक रूपमा लिएका छन्।

‎अर्किड पब्लिक स्कुलले शिक्षा प्रदान गर्ने संस्थाका रूपमा मात्र नभई विद्यार्थीको स्वास्थ्य, प्रतिभा, व्यक्तित्व विकास र समग्र भविष्य निर्माणमा समेत योगदान पुर्‍याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।