ग्यास वितरण सहज बनाउन मन्त्री यादवको स्थलगत अनुगमन ।
कोशी आवाज २०८३ श्रावण २३ गते शनिबार ।
विराटनगर । बजारमा खाना पकाउने ग्यासको अभाव कायमै रहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास वितरणको अवस्थाबारे स्थलगत अनुगमन गरेकी छन्।
मन्त्री यादवले शनिबार विभिन्न ग्यास उद्योग तथा नेपाल आयल निगमको टेकुस्थित वितरण केन्द्रमा पुगेर ग्यास आपूर्ति र वितरणको अवस्थाबारे जानकारी लिएकी हुन्। अनुगमनका क्रममा उनले उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भारतबाट ग्यास आपूर्तिमा हाल कुनै समस्या नरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन्।
उनका अनुसार नेपालमा दैनिक करिब ९० हजारदेखि १ लाख सिलिन्डर ग्यासको माग रहे पनि हाल दैनिक करिब १ लाख ५० हजार सिलिन्डर बिक्री तथा वितरण भइरहेको छ।
यद्यपि, उपभोक्ताले भने निगमको टेकुस्थित वितरण केन्द्रसहित बजारमा सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। निगमले नागरिकलाई रित्तो हात फर्किन नदिन वितरणको समय बढाउनुका साथै थप जनशक्ति परिचालन र नियन्त्रण कक्षको व्यवस्था गरिएको जनाएको छ।
निगमले फुल सिलिन्डरको बिक्री सुरु गरेपछि बजारमा ग्यास अभाव देखिएको बताइएको छ।