बराहक्षेत्रबाट ४१८ किलो गाँजासहित चार जना पक्राउ ।
कोशी आवाज २०८३ श्रावण २३ गते शनिबार ।
विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको कार र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
बराहक्षेत्र नगरपालिका–९ स्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले शनिबार बिहान करिब ५ः३० बजे बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४६५१ नम्बरको कार र को ११ प ५६०९ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको अवस्थामा ४१८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय कार चालक थमन राई, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ की २२ वर्षीया जीवनी राई, मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय मोटरसाइकल चालक अमर कामत र सोही स्थानका २८ वर्षीय शंकर चौधरी पक्राउ परेका छन्।
पक्राउ परेका चारै जनालाई गाँजा, कार र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार पछिल्लो समय कोशी प्रदेशका पहाडी जिल्लाबाट संकलन गरिएको गाँजा सुनसरी हुँदै भारततर्फ तस्करी हुने गरेको पाइएको छ। तस्करीमा संलग्नहरूले प्रहरीको निगरानी छल्न विभिन्न सवारीसाधन प्रयोग गर्ने, गाँजालाई स–साना पोकामा प्याक गर्ने तथा भित्री सडकको प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ।
बराहक्षेत्र–चतरा सडकखण्डबाट ठूलो परिमाणमा गाँजा बरामद हुनुले उक्त मार्ग लागूऔषध ओसारपसारका लागि प्रयोग भइरहेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको सम्पर्क, गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।