मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीमाथि दमन ।

मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीमाथि दमन ।

कोशी आवाज २०८३ वैशाख २३ गते बुधबार ।

मोरङ । मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत फार्मेसी स्नातकमा अध्ययनरत विद्यार्थीहरूले लामो समयदेखि उठाउँदै आएका शैक्षिक तथा प्रशासनिक समस्याहरू समाधान नभएको भन्दै असन्तुष्टि जनाएका छन्। विद्यार्थीहरूको भनाइ अनुसार विभाग, उपकुलपति कार्यालय तथा केन्द्रीय प्रशासनसँग पटक-पटक छलफल र अनुरोध गरिए पनि हालसम्म कुनै ठोस सुधार नभएको छ, जसका कारण पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ।

विद्यार्थीहरूले हालै आफ्ना मागहरू राख्दै शान्तिपूर्ण रूपमा आवाज उठाउँदा विश्वविद्यालय प्रशासनले समस्या समाधान गर्नुको सट्टा प्रहरी प्रशासन बोलाएर दमन गरेको आरोप लगाएका छन्। उक्त घटनाले विश्वविद्यालयभित्रको वातावरण थप तनावपूर्ण बनेको छ भने विद्यार्थीहरूमा असुरक्षा र निराशा बढेको बताइएको छ। विद्यार्थीहरूले यो घटनालाई शैक्षिक अधिकारमाथिको हस्तक्षेपको रूपमा लिएका छन्।

विद्यार्थीहरूले उठाएका मुख्य समस्याहरूमा MEC तथा NPC मापदण्ड अनुसार योग्य शिक्षक तथा शैक्षिक व्यवस्थापनको अभाव, आवश्यक प्रयोगशाला, पुस्तकालय तथा अध्ययन सामग्रीको कमी, फार्मेसी संकायमा डीन तथा HOD नियुक्ति नहुनु, विद्यार्थी स्वास्थ्य सेवा तथा छात्रावास व्यवस्थापनको कमजोरी, अनियमित शैक्षिक संरचना (सेलेबस परिवर्तन, शैक्षिक भ्रमण, खेलकुद, परीक्षा प्रणाली आदि), मोडेल फार्मेसी लगायतका आवश्यक संरचनाहरूको अभाव तथा शुल्क व्यवस्थापन रहेका छन्।

यस घटनापछि विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। साथै, दोषीमाथि कानुनी कारबाही, शैक्षिक वातावरण सुधारका लागि तत्काल कदम चल्नुपर्ने र विद्यार्थीहरूको जायज माग सम्बोधन गर्नुपर्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

विश्वविद्यालय प्रशासनले भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन। घटनाको यथार्थ विवरण र समाधानका लागि सम्बन्धित पक्षबीच संवाद आवश्यक देखिएको छ। शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले पनि यस विषयलाई गम्भीरतापूर्वक लिँदै छिटो समाधान खोज्नुपर्ने बताएका छन्।