सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।ढुक्क हुनुहोस्।
कोशी आवाज २०८३ वैशाख ११ गते शुक्रबार ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले नदी किनारमा बसोबास गरिरहेका नागरिकहरूको सुरक्षा र व्यवस्थापनबारे गम्भीर प्रश्न उठाउँदै अब ढिलाइ नगरी समाधानतर्फ अघि बढ्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष मनसुनका बेला आउने बाढीले काठमाडौँका नदीकिनारमा बसोबास गर्ने हजारौँ मानिसले ज्यान जोगाउन घरबार छोडेर भाग्नुपर्ने अवस्थालाई स्मरण गरेका छन्। उनले यस्तो समस्या वर्षौँदेखि दोहोरिँदै आएको उल्लेख गर्दै अब यसलाई स्थायी रूपमा समाधान गर्न आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु नै उपयुक्त विकल्प भएको स्पष्ट पारे। “अब पनि ठूलो दुर्घटना कुर्दै बस्ने कि सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने?” भन्ने प्रश्न गर्दै उनले नागरिकको जीवनसँग खेलबाड नगर्न आग्रह गरेका छन्।
उनका अनुसार नदी तथा खोला किनारमा रहेका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा समेत अवरोध पुगेको छ, जसले गर्दा उपत्यकाका नदीहरू प्रदूषित बन्दै गएका छन्। सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि यस्तो समस्या समाधानमा समेत सहयोग पुग्ने उनको भनाइ छ।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रलगायतका जोखिमयुक्त बस्तीलाई बल प्रयोग नगरी, मानवीय ढंगले सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्।
त्यसैगरी, उनले देशभरका वास्तविक सुकुम्बासीको पहिचान गरी प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गरिने प्रतिबद्धता दोहोर्याए। “वर्षौँ पुरानो सुकुम्बासी समस्या अब यो सरकारले स्थायी रूपमा समाधान गर्नेछ,” उनले विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर न्यायोचित व्यवस्थापन गरिने पनि स्पष्ट पारेका छन्।