गृहमन्त्री सुदन गुरुङद्वारा आरोपबारे स्पष्टिकरण, “हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ”
कोशी आवाज २०८३ बैशाख ७ गते सोमबार ।
बिराटनगर । गृहमन्त्री सुदन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर फैलिएका विभिन्न आरोप र चर्चाबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिएका छन्। उनले विषयलाई जटिल ढंगले प्रस्तुत गरिएको भन्दै तथ्य के हो भन्ने बुझ्न आवश्यक रहेको बताएका छन्।
गुरुङले “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपको खण्डन गर्दै आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै खुलाएको बताए। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको उल्लेख गर्दै उनले यसलाई लुकाउने नभई वर्गीकरणको विषय भएको स्पष्ट पारे।
उनले मन्त्री हुनुअघि सेयर किनिएको विषयलाई अपराधको रूपमा प्रस्तुत गरिएकोप्रति आपत्ति जनाउँदै सबै कारोबार बैंकिङ च्यानलमार्फत पारदर्शी रूपमा भएको बताए। “बैंकबाट गएको पैसाको पूरा हिसाब हुन्छ, यस्तो रकम लुकाउन सम्भव छैन,” उनले भने।
लगानीको स्रोतबारे बोल्दै गुरुङले उक्त रकम ऋणमार्फत जुटाइएको र २०८०/०५/२९ मा गरिएको तमसुकका आधारमा बैंकिङ च्यानलबाट आएको स्पष्ट पारे। उनले सबै विवरण कागजपत्र र बैंक रेकर्डबाट पुष्टि गर्न सकिने बताए।
“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुने र सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको स्पष्ट पारे। “त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्, के सबैलाई दोषी ठहर गर्ने?” उनले प्रश्न गरे।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी आरोपबारे उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग भएको उल्लेख गरे। उक्त निकायले प्रक्रिया अनुसार विषय हेर्दै गरेको र आफूले कुनै हस्तक्षेप नगरेको उनले दाबी गरे।
पृष्ठभूमि नजाँची लगानी गरिएको भन्ने आरोपलाई पनि उनले अस्वीकार गर्दै व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने बताए। “पछि भएका घटनालाई अघिको निर्णयसँग जोडेर दोष दिनु तथ्य होइन,” उनले भने।
कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने भन्दै उनले हल्ला छिटो फैलिने तर सत्य प्रमाणसहित मात्र आउने बताए। साथै, व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु गलत भएको उनको भनाइ छ।
अन्त्यमा गुरुङले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिए। उनले पार्टीले गर्ने हरेक निर्णय पालना गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
“हामी हल्लामा होइन, प्रमाणमा उभिनुपर्छ,” उनले भने।