मोरङ–२ का सांसद कृष्ण कार्कीले स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारको ध्यानाकर्षण ।

मोरङ–२ का सांसद कृष्ण कार्कीले स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारको ध्यानाकर्षण ।

कोशी आवाज २०८२ चैत २२ गते सोमबार ।

विराटनगर । मोरङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण कार्कीले देशको स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई सम्बोधन गर्दै उनले देशभर स्वास्थ्य सेवामा पहुँच, गुणस्तर र पूर्वाधारको अभाव रहेको उल्लेख गरे। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा दक्ष स्वास्थ्यकर्मीको कमी, औषधिको अभाव, आवश्यक उपकरणको न्यूनता र अस्पतालहरूको कमजोर व्यवस्थापनका कारण सर्वसाधारणले सहज रूपमा गुणस्तरीय सेवा पाउन नसकेको उनको भनाइ छ।

सांसद कार्कीले स्थानीय तहका अस्पतालहरूमा आधुनिक उपकरण र आवश्यक औषधि उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। साथै, डाक्टर, नर्स तथा प्राविधिकसहित दक्ष स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गरी उनीहरूलाई ग्रामीण क्षेत्रमा काम गर्न प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

त्यसैगरी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, आपतकालीन तथा मातृ–शिशु स्वास्थ्य सेवाको सुदृढीकरण तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र विस्तार आवश्यक रहेको उनले औँल्याएका छन्।

रोग रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत उनले जोड दिएका छन्। यी कदमहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधार भई जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।

सांसद कार्कीले उल्लेखित विषयहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दै सकारात्मक पहलको अपेक्षा गरेका छन्।