मधेसमा उच्च सतर्कता, राजनीतिक गतिविधिपछि प्रहरी ‘हाइ अलर्ट’

मधेसमा उच्च सतर्कता, राजनीतिक गतिविधिपछि प्रहरी ‘हाइ अलर्ट’मा

कोशी आवाज २०८२ चैत १५ गते आइतबार ।

बिराटनगर । पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमले तनाव बढेपछि मधेस प्रदेशमा उच्च सतर्कता अपनाइएको छ। केपी शर्मा ओली, रमेश लेखक र दीपक खड्का पक्राउ परेपछि नेपाल प्रहरी मुख्यालयको निर्देशनमा मधेसका सुरक्षा निकाय ‘हाइ अलर्ट’मा बसेका हुन्।

सुरक्षा स्रोतका अनुसार नवनियुक्त गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा थप केही उच्चस्तरीय नेतामाथि कारबाहीको तयारी भइरहेको बताइएको छ। जसअनुसार रामबहादुर थापा र उपेन्द्र यादवलाई पनि पक्राउ गर्ने आन्तरिक तयारी भइरहेको स्रोतको दाबी छ।

थापालाई भुटानी शरणार्थी प्रकरण र यादवलाई रौतहटको गौर घटनासँग जोडेर अनुसन्धानको दायरामा ल्याउने तयारी भइरहेको जनाइएको छ।

यता, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट प्राप्त निर्देशनअनुसार प्रदेशभर उच्च सतर्कता अपनाइएको हो। उनले वर्तमान सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सबै जिल्ला प्रहरी कार्यालयहरूलाई तयारी अवस्थामा राखिएको बताए।

उनका अनुसार प्रदेशका आठवटै जिल्लामा सुरक्षा समन्वय बढाइएको छ भने आवश्यकताअनुसार अतिरिक्त प्रहरी परिचालन गरिएको छ। साथै, सम्पूर्ण प्रहरी कर्मचारीको बिदा समेत स्थगित गरिएको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को छानबिनका लागि गठित आयोगको सिफारिसपछि पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउ परेका हुन्। विकसित घटनाक्रमका कारण विरोध प्रदर्शन र आन्दोलन हुन सक्ने आकलन गर्दै मधेस प्रदेशभर ‘हाइ अलर्ट’ जारी गरिएको प्रहरीले जनाएको छ।