मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजार मा रहेको बी.पी. चौकमा एउटा सालिकको भग्नावशेष आज पनि मौन रूपमा उभिएको छ।

कांग्रेस र राज्यलाई गिज्याइरहेको बी.पी. कोइरालाको भग्नावशेष सालिक

कोशी आवाज २०८२ बैशाख १७ गते बुधबार 

मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजार नजिकै रहेको बी.पी. चौकमा एउटा सालिकको भग्नावशेष आज पनि मौन रूपमा उभिएको छ। जहाँ अब केवल एउटा खुट्टा मात्र बाँकी छ। त्यो खुट्टा कुनै सामान्य व्यक्तिको होइन, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री र नेपाली लोकतन्त्रका अगुवा बी.पी. कोइरालाको हो।

यो अवस्था केवल सालिकको होइन, यो प्रतीक हो कांग्रेस र राज्यको स्मृति बिर्सने प्रवृत्तिको। दुःखद त के छ भने, हाल पनि यही गाउँपालिकाका स्थानिय, प्रदेश र संघीयमा नेपाली कांग्रेसबाट निर्वाचित भएर आफ्नो कर्तव्यमा छन्। पार्टीको झन्डा बोकेर सत्तामा पुगेका नेताहरूकै पालामा बी.पी. कोइरालाको सालिक यस्तो उपेक्षित, चर्किएको र खण्डहर बनेर उभिनु कस्तो विडम्बना हो?

बी.पी. कोइरालाको विचार र आदर्शका नाममा भाषण दिइन्छ, कार्यक्रम गरिन्छ, तर व्यवहारमा उनीप्रतिको सम्मान यति ओझेलमा पर्नु लाजमर्दो कुरा हो। जस नेताले लोकतन्त्रका लागि जीवनभर संघर्ष गरे, उनको स्मृतिस्वरूप रहेको सालिक जोगाउन नसक्नु केवल उपेक्षा होइन विचारप्रतिको बेइमानी पनि हो।

राज्यको उदासीनता झन् गम्भीर छ। जुन लोकतन्त्र बी.पी. जस्ता सपूतहरूको त्यागबाट सम्भव भयो, त्यो व्यवस्थामा आज उनीप्रतिको स्मारक यति लाचार र भग्न अवस्थामा हुनु विडम्बना मात्रै होइन, चेतावनी पनि हो।

आज आवश्यकता छ, सालिक मर्मतको मात्र होइन, बी.पी. कोइरालाको विचार र योगदानलाई जीवन्त बनाउने प्रतिबद्धताको। नत्र, त्यो भग्न सालिक सधैंजसो कांग्रेस र राज्य दुवैलाई मौन रूपमा गिज्याइरहनेछ।