नेपाली नक्कली नोटसहित रङ्गेली नगरपालिका वार्ड नं २ का एक जना व्यक्ति पक्राउ ।

शंकास्पद नेपाली नक्कली नोटसहित एक जना नियन्त्रणमा ।

कोशी आवाज २०८२ माघ १४ गते बुधबार ।

मोरङ । मोरङको रंगेली नगरपालिका–२ वेतौना स्थित पसलहरूमा शंकास्पद नेपाली नोट प्रयोग भएको सूचनापछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

वेतौना स्थित नवीन पुरीले सञ्चालन गरेको पसलमा रेडबुल खरिद गर्दा नेपाली रुपैयाँ १ हजार जस्तो देखिने १ थान शंकास्पद नोट फेला परेको तथा सोही वडास्थित उज्वल ढकालको किराना पसलमा उधारो तिर्दा पनि नेपाली रुपैयाँ १ हजार जस्तो देखिने अर्को १ थान शंकास्पद नोट भेटिएको भनी अस्थायी प्रहरी चौकी वेतौनामा जानकारी प्राप्त भएको थियो।

सूचना प्राप्त भएपछि २ जनाको प्रहरी टोली खटिएर सोधपुछ गर्दा उक्त शंकास्पद नोट रंगेली नगरपालिका–२ निवासी अन्दाजी ४५ वर्षीय सहमद हुसेनले दिएको खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएर सहमद हुसेनको घर तथा उनले प्रयोग गर्दै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारीको खानतलासी गरिएको थियो। खानतलासीका क्रममा सिटी सफारीको चालक सिटको डिकीभित्र लुकाइ राखिएको नेपाली रुपैयाँ १ हजार दरका थप ३ थान शंकास्पद नोट फेला परेको प्रहरीले जनाएको छ।

यसरी जम्मा ५ थान नेपाली रुपैयाँ १ हजार दरका शंकास्पद नोट बरामद गरी सहमद हुसेनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।