बालेनको पाथिभरा दर्शनमा महेश बस्नेतको आपत्ति, ‘जुठो’ बारिने समयमा मन्दिर जान मिल्छ?
कोशी आवाज २०८२ माघ ९ गते शुक्रबार ।
बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित पाथिभरा मन्दिरको दर्शन गरेको विषयलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन्। बस्नेतले सामाजिक सञ्जालमार्फत बालेनको उक्त कदम हिन्दु धर्म–संस्कारविपरीत भएको दाबी गरेका हुन्।
बालेन शाह पितृशोकमा रहेको सन्दर्भ उल्लेख गर्दै बस्नेतले बुबा–आमा वा नजिकको आफन्तको निधनपछि बारिने ‘अशौच’ वा ‘जुठो’ अवधिमा देवदर्शन तथा पूजा–पाठ गर्न नहुने धार्मिक मान्यता रहेको तर्क अघि सारेका छन्। यस्तो अवस्थामा मन्दिर जानु हिन्दु संस्कारअनुसार अनुचित भएको उनको भनाइ छ।
महेश बस्नेतले बालेनको पाथिभरा दर्शनलाई ‘चुनावको मुखमा गरिएको प्रचारबाजी’को संज्ञा दिँदै धार्मिक आस्थालाई चुनावी प्रयोजनका लागि प्रयोग गर्नु नैतिक रूपमा गलत भएको आरोप समेत लगाएका छन्। जुठो बार्नुपर्ने समयमा गरिएको मन्दिर दर्शनले बालेनको नियतमाथि प्रश्न उठ्ने उनको टिप्पणी छ।
तर सामाजिक सञ्जालमा बालेन शाहको पाथिभरा दर्शनलाई लिएर फरक–फरक प्रतिक्रिया पनि देखिएका छन्। कतिपयले यसलाई धार्मिक उदारता र आधुनिक सोचको प्रतीकका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार धर्म व्यक्तिगत आस्था र मानसिक शान्तिसँग जोडिएको विषय हो, जसमा परम्पराभन्दा व्यक्ति स्वयंको विश्वास महत्वपूर्ण हुन्छ।
शोकको घडीमा शक्तिपीठको दर्शनले मानसिक बल र आत्मिक शान्ति मिल्ने विश्वास पनि केहीले व्यक्त गरेका छन्। यसका साथै काठमाडौँ महानगरपालिकाका मेयर रहिसकेका व्यक्तिले पूर्वी नेपालको प्रमुख शक्तिपीठमा पुगेर दर्शन गर्नुले भौगोलिक र सांस्कृतिक एकताको सन्देश दिने तर्कसमेत गरिएको छ। यसले ‘काठमाडौँ मात्र नेपाल होइन’ भन्ने भावनालाई थप बल पुग्ने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।