एमाले–माओवादीबीच केही निर्वाचन क्षेत्रमा चुनावी गठबन्धन ।
कोशी आवाज २०८२ माघ ७ गते बुधबार ।
मोरङ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केही निर्वाचन क्षेत्रमा चुनावी गठबन्धन गर्ने सहमति भएको छ। एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच चुनावी तालमेल गर्ने विषयमा सहमति भएको हो।
सहमति अनुसार एमाले महासचिव शंकर पोखरेल उम्मेदवार रहेको दाङ निर्वाचन क्षेत्र नम्बर २ र माओवादी केन्द्रका प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ उम्मेदवार रहेको कालीकोट निर्वाचन क्षेत्रमा गठबन्धन गरिनेछ। यही सहमतिअनुसार माओवादी केन्द्रले दाङ–२ मा आफ्ना उम्मेदवार उठाएको छैन।
यस्तै कालीकोटमा एमालेले नगीन्द्र शाहीलाई उम्मेदवार बनाएको भए पनि गठबन्धनको सहमतिपछि एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अनुमान गरिएको छ। सहमति अनुसार उक्त निर्वाचन क्षेत्रमा एमालेले माओवादी केन्द्रका उम्मेदवार खड्गबहादुर विक ‘प्रकाण्ड’लाई समर्थन गर्नेछ।
दुवै दलबीचको यो सहमतिलाई आगामी निर्वाचनमा प्रभाव पार्ने महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।