गगन थापा समूहको दाबीः २९ जना महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर फिर्ता लिए

गगन थापा समूहको दाबीः २९ जना महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर फिर्ता लिए

कोशी आवाज २०८२ माघ २ गते शुक्रबार ।

मोरङ । नेपाली कांग्रेसको गगन थापा नेतृत्वको समूहले पुस ३० गते सम्पन्न दोस्रो विशेष महाधिवेशन विधानसम्मत, बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्ण रूपमा वैधानिक ढंगले सम्पन्न भएको दाबी गरेको छ।

गगन थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालीसेले शुक्रबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनपछि केही महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको भन्ने समाचार बाहिरिएपछि त्यसको सत्यता र वैधानिक प्रभावबारे प्रस्ट पारिएको बताएका छन्।

विज्ञप्तिअनुसार विशेष महाधिवेशन दर्ता हुँदा कुल २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो। दर्तापछि केवल २९ जना प्रतिनिधिले मात्रै हस्ताक्षर फिर्ता लिएको दाबी गरिएको छ। पार्टीका अनुसार कुल ४ हजार ६३५ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ६५२ जनाको अधिवेशनमा उपस्थिति रहेको थियो।

‘विशेष महाधिवेशन असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता हुँदा २,४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संलग्न थियो। दर्तापछि केवल २९ जनाले हस्ताक्षर फिर्ता लिएका थिए। अधिवेशनमा कुल महाधिवेशन प्रतिनिधि संख्या ४,६३५ मध्ये २,६५२ जनाको उपस्थिति रहेको थियो। उपस्थित सबै प्रतिनिधिहरूले निर्णय प्रक्रियामा पूर्ण रूपमा सहभागिता जनाएका थिए,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

विशेष महाधिवेशनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भंग गरी १५औँ महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि गगनकुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको र सो निर्णय सार्वजनिक भइसकेको पनि विज्ञप्तिमा जनाइएको छ।

पार्टीले विशेष महाधिवेशन सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने कुनै पनि हस्ताक्षरले अधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयहरूको वैधतामा कुनै प्रभाव नपर्ने स्पष्ट पारेको छ। नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार विधिसम्मत रूपमा सम्पन्न भइसकेको अधिवेशनका निर्णयहरू पछिल्लो हस्ताक्षर फिर्ताका आधारमा रद्द वा प्रभावित गर्न नमिल्ने केन्द्रीय समितिको भनाइ छ।

यता, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधरहरूले भने ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका छन्। देउवा समूहले शुक्रबार निर्वाचन आयोग पुगेर ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको विवरणसहितको कागजात बुझाइसकेको छ।

नेपाली कांग्रेसभित्र देखिएको यो विवादले पार्टीको आधिकारिकता र वैधानिक नेतृत्वबारे प्रश्न उठाएको छ। अब यस विषयको अन्तिम टुंगो निर्वाचन आयोगको निर्णयले लगाउने देखिएको छ।