नेपाली कांग्रेसका दुई समूहद्वारा एकै समयमा शक्ति प्रदर्शन ।
कोशी आवाज २०८२ माघ २ गते शुक्रबार ।
मोरङ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद उत्कर्षमा पुग्दै जाँदा पार्टीका दुई समूहले शुक्रबार दिउँसो एकै समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै शक्ति प्रदर्शन गर्ने भएका छन्।
१४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आयोजना हुने पत्रकार सम्मेलनमा उपस्थित हुन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्। संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णयबिना विशेष महाधिवेशन हुन नसक्ने र त्यस्तो महाधिवेशनलाई मान्यता दिन नसकिने अडान लिँदै आएको छ।
उता, पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन आयोजना गरी १४औँ महाधिवेशनबाट निर्वाचित महामन्त्री गगन थापालाई सर्वसम्मत सभापति चयन गरेको समूहले आफूहरूलाई आधिकारिक मान्यता दिन माग गर्दै कागजातसहित निर्वाचन आयोग जाने तयारी गरेको छ। विशेष महाधिवेशनको जनपरिचालन समितिका सदस्य–सचिव सुसन वैद्यले विज्ञप्ति जारी गर्दै दिउँसो २ बजे नवनिर्वाचित सभापति गगन थापासहित सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई चुनाव चिन्हलगायत विषयमा छलफलका लागि कान्तिपथस्थित निर्वाचन आयोगमा उपस्थित हुन आग्रह गरिएको जानकारी दिएका छन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनलाई संस्थापन पक्षले औपचारिक मान्यता दिएको छैन। संस्थापन पक्षका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयबिना सम्पन्न विशेष महाधिवेशन वैधानिक हुँदैन। तर, गगन थापा पक्षले भने पार्टी विधानअनुसार आवश्यक प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशन गरिएको दाबी गर्दै आफूहरूले नै आधिकारिकता पाउनुपर्ने अडान लिँदै आएको छ।
एकै समयमा दुई फरक कार्यक्रम र दुई फरक दाबी सार्वजनिक हुन लागेपछि नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद झन् चर्किएको देखिन्छ। अब पार्टीको वैधानिक नेतृत्व कुन पक्षलाई मान्यता दिने भन्ने विषय निर्वाचन आयोगको निर्णयमा निर्भर रहने विश्लेषण गरिएको छ।