बलियो अभिभावकत्व नहुँदा कांग्रेस विभाजनतर्फ धकेलियो : एमाले सचिव बस्नेत ।

बलियो अभिभावकत्व नहुँदा कांग्रेस विभाजनतर्फ धकेलियो : एमाले सचिव बस्नेत ।

कोशी आवाज २०८२ पौष ३० गते बुधबार ।

मोरङ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीजस्तो बलियो अभिभावकत्वको अभावका कारण नेपाली कांग्रेस विभाजनतर्फ धकेलिएको टिप्पणी गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत कांग्रेसको आन्तरिक विवाद र विभाजनबारे धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले कांग्रेसभित्र स्पष्ट नेतृत्व र पार्टीप्रतिको जिम्मेवारी बोधको कमी देखिएको उल्लेख गरेका छन्।

एमाले अध्यक्ष ओलीको नेतृत्व क्षमताको प्रशंसा गर्दै बस्नेतले लेखेका छन्,
“केपी शर्मा ओलीले निरंकुशताको आरोप खेपेर भए पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिका अतुलनीय र प्रशंसनीय छ। बलियो एमाले र केपी ओलीजस्तो अभिभावकत्व, स्पष्ट नेतृत्व र पार्टीप्रतिको जिम्मेवारी नहुँदा कांग्रेस विभाजनतर्फ धकेलिएको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन।”

उनले लोकतन्त्र कमजोर बन्दै गएको र देश अस्थिरताको चरणमा रहेको समयमा कांग्रेसभित्र देखिएको विभाजन चिन्ताजनक र दुःखद रहेको बताए।

साथै, बस्नेतले “लासहरूको पार्टी” जस्ता अभिव्यक्तिका साथ उफ्रिने केही नेताहरूले ऐतिहासिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी पनि गरेका छन्।

उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।