मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल ।
कोशी आवाज २०८२ पुष २५ गते शुक्रबार।
मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्कने छुट नभएको स्पष्ट पारेका छन्। गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले सरकारको प्रमुख ‘म्यान्डेट’ तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको बताए।
गृहमन्त्री अर्यालले सरकार निर्वाचनको प्रक्रियामा होमिइसकेको उल्लेख गर्दै तोकिएको मितिमा नै निर्वाचन हुनेमा कुनै शंका नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे। तोकिएको समयमा निर्वाचन सम्पन्न नभए देशले गम्भीर संकट सामना गर्न सक्ने चेतावनी दिँदै उनले सरकारले निर्धारण गरिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याए।
उनले जेन–जी आन्दोलन सुशासन कायम गर्न लक्षित रहेको उल्लेख गर्दै सुशासन प्रवर्द्धनका लागि सरकार कटिबद्ध रहेको बताए। साथै, सरकारले गरिरहेका कामप्रति सकारात्मक सन्देश प्रवाह गरी सरकारको मनोबल बढाइदिन पनि सबै पक्षसँग उनले आग्रह गरे।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे। उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री बानियाँले कृत्रिम बौद्धिकता, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगबाट फैलिन सक्ने भ्रामक समाचार र त्यसले आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति गृह मन्त्रालय र सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरे।