भारतले बंगलादेशमाथि आक्रमण गरे मिसाइल प्रयोग हुने चेतावनी, पाकिस्तान नेताको सैन्य गठबन्धन प्रस्ताव ।
कोशी आवाज २०८२ पौष ९ गते मंगलबार ।
विराटनगर । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग (PML) को युवा संगठनका नेता कमरान सईद उस्मानीले भारतले बंगलादेशमाथि आक्रमण गरेमा पाकिस्तानको सेना र मिसाइल शक्ति प्रयोग हुने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो सन्देशमा उस्मानीले बंगलादेशको स्वायत्ततामाथि कुनै पनि आक्रमण सह्य नहुने भन्दै पाकिस्तान बंगलादेशको पक्षमा उभिने दाबी गरे। उनले भारतले बंगलादेशमाथि ‘अखण्ड भारत’ विचारधारा थोपर्न खोजेको आरोपसमेत लगाए।
उस्मानीले पाकिस्तान र बंगलादेशबीच औपचारिक सैन्य गठबन्धन आवश्यक रहेको बताउँदै दुवै देशले एक–अर्काको भूमिमा सैन्य आधार स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारे। उनले भारतको सीमा सुरक्षा बल (BSF) ले बंगलादेशलाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए।
रणनीतिक रूपमा उनले पश्चिमबाट पाकिस्तान, पूर्वबाट बंगलादेश र उत्तरतर्फ चीन सक्रिय हुने अवस्था सिर्जना भए भारतमाथि ठूलो दबाब पर्न सक्ने दाबी गरे। साथै, चीन–पाकिस्तान आर्थिक करिडोर (CPEC) लाई बंगलादेशका बन्दरगाहसँग जोड्न सकिने भन्दै यसले क्षेत्रीय शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउने बताए।
उस्मानीको यस अभिव्यक्तिपछि दक्षिण एशियामा क्षेत्रीय सुरक्षा र कूटनीतिक तनाव बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ।