

ललितपुरमा अनलाइन जुवा र लागुऔषध प्रकरणमा एक युवक पक्राउ ।
कोशी आवाज २०८२ भादो १० गते मंगलबार ।
काठमाडौँ । अनलाइन जुवा (सट्टाबाजी) र लागुऔषध प्रकरणमा संलग्न एक युवक ललितपुरबाट प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले ललितपुर महानगरपालिका–४ शान्तिकुना मार्गस्थित कोठा भाडामा लिएर बस्दै आएका सिन्धुली कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङका २६ वर्षीय गौरव स्याङतानलाई पक्राउ गरेको हो।
उनको कोठामा खानतलासी गर्दा विभिन्न सामानसहित ठूलो परिमाणको नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका दशी प्रमाणमा नेपाली रुपैयाँ ९१ लाख ५० हजार, नोट गन्ने मेसिन, तौल गर्ने तराजु, करिब १ किलो ५०० ग्राम गाँजा, ११ थान मोबाइल सेट, एक थान iPad, ल्यापटप, ८ थान विभिन्न बैंकका एटीएम कार्ड, पोकेट वाइफाइ र ‘CHEWANG’S PLAY GROUND’ लेखिएको बोर्ड समेत छन्।
प्रहरीका अनुसार पक्राउ परेका स्याङतानमाथि अनलाइन जुवा (सट्टाबाजी) सञ्चालन तथा लागुऔषध कारोबारसम्बन्धी अभियोगमा थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको सम्पूर्ण दशी सामान कानुन बमोजिम आवश्यक कारबाहीका लागि पेश गरिएको प्रहरीले जानकारी दिएको छ।