ससुरा व्यवस्थापन समितिका अध्यक्ष, बुहारी प्रधानाध्यापक, सालो शिक्षक र छोरा कार्यालय सहयोगी? सुनबर्सीको सीताराम आधारभूत विद्यालयबारे गम्भीर प्रश्न ।
कोशी आवाज २०८३ श्रावण २० गते बुधबार।
विराटनगर । मोरङको सुनबर्सी नगरपालिका–७, बडङ्गा स्थित श्री सीताराम आधारभूत विद्यालय मा एउटै परिवारका सदस्यले विद्यालयका प्रमुख जिम्मेवारी सम्हालेको आरोप सार्वजनिक भएपछि विद्यालयको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।
स्थानीयका अनुसार विद्यालयका ससुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बुहारी प्रधानाध्यापक, सालो शिक्षक तथा छोरा कार्यालय सहयोगी का रूपमा कार्यरत छन्। एउटै परिवारका सदस्य विद्यालयको प्रमुख जिम्मेवारीमा रहेकाले पारदर्शिता, सुशासन र निष्पक्षतामाथि प्रश्न उठेको स्थानीयको भनाइ छ।
विद्यालयमा करिब ९० जना विद्यार्थी नामावलीमा रहेको बताइए पनि दैनिक १० देखि १२ जना मात्र विद्यालय आउने गरेको स्थानीयको दाबी छ। साथै, शिक्षकहरू नियमित अध्यापनमा भन्दा मोबाइल चलाएर समय बिताउने गरेको आरोप पनि लगाइएको छ।
विद्यालयमा शौचालय भए पनि पानीको व्यवस्था नहुँदा विद्यार्थीहरू शौच गर्न छिमेकीको घर जानुपर्ने बाध्यता रहेको प्रधानाध्यापक ले बताएका छन्।
यस विषयमा सुनबर्सी नगरपालिकाका शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्ले ले आफूलाई यसबारे जानकारी नभएको बताएका छन्। उनले अब विद्यालयको अवस्थाबारे छानबिन गरी आवश्यक सुधार तथा कानुनअनुसार प्रक्रिया अघि बढाइने बताएका छन्।
विद्यालयमा देखिएका भनिएका यी अवस्थाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा आवश्यक कारबाही गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।