अमेरिकी न्यायको पूर्ण कठोरता सामना गर्नुपर्ने’— न्यूयोर्क अदालतमा अभियोगपत्र दायर : महान्यायाधिवक्ता पाम बोन्डी ।
कोशी आवाज २०८२ पुष १९ गते सनिवार ।
मोरङ । भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सीलिया फ्लोरेसलाई पक्राउ गरिएको दाबी सार्वजनिक भएको केही घण्टामै संयुक्त राज्य अमेरिकाले उनीहरूविरुद्ध लागूऔषध तस्करी तथा आतंकवादसम्बन्धी गम्भीर आपराधिक अभियोग लगाउने घोषणा गरेको छ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जाल एक्स (X) मार्फत मादुरो दम्पतीले अमेरिकी अदालतमा कडा कारबाहीको सामना गर्नुपर्ने बताएकी छन्। उनका अनुसार न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा उनीहरूविरुद्ध अभियोगपत्र दायर गरिएको छ।
अभियोगपत्रमा मादुरोमाथि लागूऔषध–आतंकवादसम्बन्धी षड्यन्त्र, कोकेन आयात षड्यन्त्र, मेशिनगन तथा विनाशकारी हतियार राखेको र ती हतियार प्रयोगका लागि षड्यन्त्र गरेको आरोप लगाइएको छ। बोन्डीले “मादुरो दम्पतीले चाँडै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा, अमेरिकी न्यायको पूर्ण कठोरता सामना गर्नेछन्” भनेर उल्लेख गरेकी छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि गरिएको एक सैन्य अपरेशनका क्रममा मादुरो दम्पतीलाई पक्राउ गरी देशबाहिर लगाइएको दाबी गरेका थिए। उनले ट्रुथ सोशलमा पोस्ट गर्दै उक्त अपरेशन अमेरिकी कानुन कार्यान्वयन निकायसँगको सहकार्यमा सम्पन्न भएको र थप विवरण सार्वजनिक गरिने बताएका थिए।
ट्रम्प प्रशासनले मादुरो नेतृत्वको सरकारलाई लामो समयदेखि “नार्को–आतंकवादी शासन”को संज्ञा दिँदै आएको छ। पछिल्ला घटनाक्रमसँगै अमेरिका–भेनेजुएला सम्बन्ध थप तनावपूर्ण बनेको विश्लेषण गरिएको छ।