५१३औँ दिव्य धर्म यज्ञ दिवसको दोस्रो दिन १९ जोडीको दाइजोमुक्त विवाह, १०७ जनाद्वारा रक्तदान ।
५१३औँ दिव्य धर्म यज्ञ दिवसको दोस्रो दिन १९ जोडीको दाइजोमुक्त विवाह, १०७ जनाद्वारा रक्तदान ।

कोशी आवाज २०८३ मङ्सिर ९ गते बुधबार ।

बिराटनगर । जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको पावन उपस्थितिमा सञ्चालित ५१३औँ दिव्य धर्म यज्ञ दिवसको तीन दिवसीय महासमागमको दोस्रो दिन विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम सम्पन्न भएका छन्।नेपालको सतलोक आश्रम धनुषासहित भारतका १४ वटा ठूला आश्रममा एकैसाथ सञ्चालन भइरहेको महासमागममा आध्यात्मिक प्रदर्शनी, विशाल निःशुल्क भण्डारा, सत्संग, अखण्ड ज्योति यज्ञ, सन्त गरीबदास महाराजको अमर ग्रन्थ साहेबको अखण्ड पाठ तथा निःशुल्क नामदीक्षालगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्।कार्यक्रमको विशेष आकर्षणका रूपमा दाइजोमुक्त विवाह र रक्तदान शिविर आयोजना गरिएको थियो। रक्तदान कार्यक्रममा १०७ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

त्यस्तै, दाइजो प्रथाविरुद्धको सामाजिक अभियानअन्तर्गत नेपालका ५, बिहारका १२, पश्चिम बङ्गालका १ र उत्तर प्रदेशका १ गरी जम्मा १९ जोडीको दाइजोमुक्त विवाह सम्पन्न भएको आयोजकले जनाएको छ।१७ मिनेटको असुर निकन्दन रमैणीमार्फत शास्त्रविधिअनुसार बिना दाइजो, बिना भोजभतेर तथा कुनै तडकभडक नगरी विवाह सम्पन्न गरिएको जनाइएको छ।दाइजोमुक्त विवाहले सामाजिक समानता, आर्थिक राहत र सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ। त्यस्तै, रक्तदान कार्यक्रमले मानव सेवा र परोपकारको सन्देश दिएको छ।तीन दिनसम्म सञ्चालन हुने महासमागमको भोलि तेस्रो तथा अन्तिम दिन विभिन्न धार्मिक कार्यक्रमसँगै समापन समारोह आयोजना गरिनेछ। आयोजक पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालले सम्पूर्ण श्रद्धालु तथा भक्तजनलाई कार्यक्रममा सहभागी भई प्रसाद ग्रहण गर्न आग्रह गरेको छ।