भीमफेदी दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त, मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्न माग । कोशी आवाज २०८३ कार्तिक २७ गते शुक्रबार ।
बिराटनगर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ।
नेपाली कांग्रेसले कार्तिक २७ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कांग्रेसले मृतकका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ।
त्यस्तै, देशभर बढ्दै गएको सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै दुर्घटनाका कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी तथा यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरी प्रभावकारी सुधारका उपाय अवलम्बन गर्नुपर्ने कांग्रेसको माग छ ।