प्रधानसेनापति सिग्देलले गरे बेलायती सेना प्रमुखसँग शिष्टाचार भेट ।
कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।
काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बुधबार बेलायती सेनाको मुख्यालय पुगेर प्रधानसेनापति सिग्देलले जनरल वाकरसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपाल र बेलायतबीचको आपसी हित तथा दुई देशबीचको सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
बेलायती सेनाका प्रमुख जनरल वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल असोज १९ गतेदेखि बेलायतको औपचारिक भ्रमणमा छन्।
भ्रमणका क्रममा उनले असोज २० गते बेलायतका उपरक्षा प्रमुख (सैनिक, रणनीति तथा सञ्चालन) तथा भेटेरान्स एन्ड पिपुलसम्बन्धी मन्त्रालयका संसदीय उपराज्यमन्त्रीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।
त्यसै क्रममा प्रधानसेनापति सिग्देलले गोरखा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए।