कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा ।

कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा ।

कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिएपछि गगन थापा र खड्गीबीच प्रतिस्पर्धा हुने भएको हो। यसअघि सभापतिमा तीन जनाको उम्मेदवारी रहेकामा किशोरसिंह राठौरले बुधबार उम्मेदवारी फिर्ता लिएसँगै दुई जनाको उम्मेदवारी कायम भएको निर्वाचन समितिले जनाएको छ।

खड्गीले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व चयन हुनुपर्ने भन्दै आफूले उम्मेदवारी फिर्ता नलिएको बताएका छन्। उनले महाधिवेशन प्रतिनिधिले आफूलाई सभापतिमा निर्वाचित गर्ने विश्वास व्यक्त गरेका छन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य एवं वरिष्ठ अधिवक्ता सुजन लोप्चनका अनुसार बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ। वर्षा तथा केही प्राविधिक कारणले यसअघि तय भएको समयभन्दा तीन घण्टा ढिला मतदान सुरु गर्न लागिएको हो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ।