प्रधानमन्त्री शाहको यूएन सम्बोधनको रुसी उपविदेशमन्त्रीद्वारा प्रशंसा ।

प्रधानमन्त्री शाहको यूएन सम्बोधनको रुसी उपविदेशमन्त्रीद्वारा प्रशंसा ।

कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।

काठमाडौं । नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गरेका छन्।

मङ्गलबार साँझ काठमाडौंमा रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’मा रुडेन्कोले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरे।

उनले जलवायु परिवर्तनबाट उत्पन्न समस्या विश्वका लागि ‘अलार्म बेल’ भएको बताउँदै नेपालले भोगिरहेको विपद्का बेला रुस आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको बताए। रुस स्वयं विभिन्न चुनौतीसँग जुधिरहेको भए पनि नेपाललाई आवश्यक सहयोगका लागि सम्भव सबै प्रयास गर्न तयार रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै नेपालमा आएको विनाशकारी बाढी तथा जलवायु संकटबाट भएको जनधनको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

ओपन डाइलगमा रुडेन्कोले नेपाली विद्यार्थीका लागि रुसमा उच्च शिक्षा अध्ययन गर्ने अवसरबारे जानकारी दिँदै आगामी शैक्षिक वर्षमा ५२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराउने बताए।

उनले शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलाई नेपाल–रुस सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यी क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

रुडेन्कोको नेपाल भ्रमणका क्रममा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा समेत नेपाली पक्षले छलफल गर्ने अपेक्षा गरिएको छ।

यसैगरी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै रुडेन्कोले मस्कोले नेपालसँगको कूटनीतिक सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका छन्।