कांग्रेसमा मीनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने ।
कोशी आवाज २०८३ असोज २० गते मंगलबार।
विराटनगर । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
रिजालले मंगलबार बिहान आफ्ना निकट नेता–कार्यकर्तासँग छलफल गर्दै उपसभापति पदमा प्रतिस्पर्धा गर्ने जानकारी गराएका हुन्। आजै उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदैछ।
१४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका रिजाल पराजित भएका थिए। त्यसबेला उनी शेखर कोइराला पक्षबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। सोही समूहबाट गगनकुमार थापा महामन्त्रीमा निर्वाचित भएका थिए भने अर्को महामन्त्री पदमा विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए।
यसपटक गगनकुमार थापा सभापति पदमा प्रतिस्पर्धा गर्दैछन् भने विश्वप्रकाश शर्मा उपसभापति पदका उम्मेदवारका रूपमा अघि बढेका छन्। रिजाल पनि उपसभापति पदमा उम्मेदवारी दिएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारी तहको प्रतिस्पर्धा थप रोचक बनेको छ।
रिजाल यसअघि कांग्रेसको महामन्त्रीसमेत भइसकेका नेता हुन्। १५औँ महाधिवेशनमा उनीसहित विभिन्न नेताहरूले पदाधिकारीका लागि उम्मेदवारी अघि बढाइरहेका छन्।