सेनासहितका सुरक्षा निकायमाथि आक्षेप नलगाउन रवि लामिछानेको आग्रह ।
कोशी आवाज २०८३ असोज १८ गते आइतबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सेनासहितका सुरक्षा निकायमाथि राजनीतिक स्वार्थका लागि आक्षेप नलगाउन आग्रह गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले राजनीतिक स्वार्थ पूरा गर्न विभिन्न राज्य संयन्त्रमाथि दोषारोपण गर्नु उचित नभएको बताए।
“हाम्रो राजनीतिक स्वार्थका लागि विभिन्न निकायलाई दोष लगाउन पाइँदैन। कुनै पनि किसिमको तानाबाना बुन्नु राम्रो होइन,” उनले भने।
लामिछानेले रास्वपा जनताको मतबाट निर्वाचित भएर सरकारमा पुगेको दाबी गर्दै जनमतको अवमूल्यन नगर्न पनि आग्रह गरे। विदेशी वा सुरक्षा निकायले निर्वाचन प्रभावित पारेको जस्ता अभिव्यक्तिले जनमतलाई कमजोर पार्ने काम नगर्न उनले चेतावनी दिए।
सरकार ढल्ने चर्चा भइरहेका बेला लामिछानेले आन्दोलनबाट नभई निर्वाचनबाटै सरकार परिवर्तन गर्नुपर्ने बताए।
“सरकार ढल्दैन। बरु सरकार ढल्छ–ढल्छ भन्नेहरू बेहोस भएर पक्कै ढल्छन्,” उनले भने, “आन्दोलनबाट सरकार ढाल्ने नसोच्नुस्, चुनावबाट ढाल्नुस्।”
उनले निर्वाचनकै माध्यमबाट देशलाई विकासको बाटोमा अघि बढाउन सकिने बताए। सार्वभौम जनताबाट निर्वाचित सरकार र निर्वाचन प्रक्रियाको सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
लामिछानेले रास्वपाले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार गर्न सक्ने बताए।
“हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्। यो पाँच वर्षमा काम गर्न सक्दैन भने रास्वपाको सदस्यता च्यातिदिए हुन्छ,” उनले भने।
लोकतन्त्र खतरामा नरहेको दाबी गर्दै लामिछानेले लोकतन्त्रलाई खतरा उत्पन्न भए जनताले त्यसको रक्षा गर्ने बताए। पछिल्लो समय आन्दोलन र ‘आँधीबेहरी’ को चर्चा भइरहेको भन्दै उनले त्यस्ता गतिविधितर्फ नलाग्न पनि आग्रह गरे।
रास्वपा सरकारमा सहभागी भएको ६ महिनाको अवधिलाई कसरी मूल्यांकन गरिएको छ भन्ने आफूलाई थाहा नभए पनि पार्टी आफ्ना मूल्य र मान्यताबाट विमुख नहुने उनले बताए।
“हामीले काम बाँडेका छौँ। सरकार र पार्टीका जिम्मेवारी सम्हालिरहेका छौँ,” लामिछानेले भने।