नेपाली कांग्रेसको १५औँ महाधिवेशन औपचारिक रूपमा सुरु ।
कोशी आवाज २०८३ असोज १८ गते आइतबार ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा सुरु भएको छ। कांग्रेस सभापति गगन थापाले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहअघि विभिन्न कलाकारले गीत तथा सांगीतिक प्रस्तुति दिएका थिए। महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत सहभागिता रहेको छ।
समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सहभागी छन्।
महाधिवेशनमा सभापति थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी छ। बन्दसत्रमा नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
त्यस्तै, उम्मेदवारी मनोनयनअघि विधान संशोधन प्रस्तावमाथि महाधिवेशन हलमै छलफल गरी आवश्यक निर्णय गर्ने तयारी कांग्रेसले गरेको छ।
महाधिवेशन व्यवस्थापनका लागि स्थल, मञ्च, आवास, भोजन, स्वास्थ्य, अतिथि सत्कार तथा सञ्चार व्यवस्थापनलगायतका छुट्टाछुट्टै संयन्त्र परिचालन गरिएको छ। सभापति थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन गरिएको छ।
महाधिवेशनमा ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ। उद्घाटन तथा बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी गरिएको छ।
प्रतिनिधि दर्ता असोज १७ गतेदेखि सुरु भएको हो। कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने तयारी गरिएको छ।