कांग्रेस महाधिवेशन : उद्घाटन र बन्दसत्र एकै ठाउँमा, विद्युतीय मतदान नहुने ।

कांग्रेस महाधिवेशन : उद्घाटन र बन्दसत्र एकै ठाउँमा, विद्युतीय मतदान नहुने ।

कोशी आवाज २०८३ अशोक १८ गते आइतबार ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन र बन्दसत्र एउटै स्थानमा आयोजना गरिने भएको छ।

महाधिवेशन तालिकाअनुसार आज असोज १८ गते उद्घाटन सत्र हुनेछ भने असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन हुने कांग्रेसले जनाएको छ।

खुलामञ्चमा बन्दसत्र सञ्चालनका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ नाम दिइएका तीनवटा ठूला संरचना निर्माण गरिएको छ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा तीन समूह बनाएर छलफल गरिनेछ।

महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरिएको छ। असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ।

यसपटक कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बनाउने प्रस्ताव छ। जसमा १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था प्रस्ताव गरिएको छ। यद्यपि बन्दसत्रबाट विधानमा आवश्यक हेरफेर गर्ने तयारीसमेत गरिएको छ।

यसअघि विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरिए पनि प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै कांग्रेसले अन्तिम समयमा परम्परागत मतदान प्रणालीबाटै निर्वाचन गर्ने निर्णय गरेको छ।

महाधिवेशन प्रतिनिधिहरूको आवासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रका होटल तथा अन्य स्थानमा व्यवस्था गरिएको छ। प्रतिनिधिहरूका लागि बिहान, दिउँसो र साँझको भोजन भने भृकुटीमण्डपमा व्यवस्था गरिएको जनाइएको छ।