मोरङ कांग्रेस सभापतिमा सात नेताको दाबी ।

मोरङ कांग्रेस सभापतिमा सात नेताको दाबी ।

कोशी आवाज २०८३ असोज १७ गते सनिवार ।

बिराटनगर । नेपाली कांग्रेस मोरङको सभापतिका लागि दाबी गर्ने नेताहरूको संख्या सात पुगेको छ। यसअघि चार नेताको नाम चर्चामा रहे पनि पछिल्लो समय थप नेताहरूले पनि सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

सभापतिका आकांक्षीमा १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनबाट बाहिरिनुभएका यदुकुमार विष्ट, वर्तमान सभापति डिगबहादुर लिम्बूका निकटतम प्रतिस्पर्धी दिलीपकुमार गच्छदार, वर्तमान सचिव ललितबहादुर श्रेष्ठ, कोशी प्रदेशसभाका पूर्वसांसद सूर्यमाराज राई, वर्तमान उपसभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे र पूर्वसहसचिव ज्ञानेन्द्र ढकाल रहेका छन्।

विष्ट र राई विशेष महाधिवेशनको पक्षमा सुरुदेखि नै खुलेका नेताका रूपमा देखिएका छन्। श्रेष्ठ र गच्छदार भने पछि विशेष महाधिवेशनको पक्षमा जोडिएका थिए। ढकालले पनि विशेष महाधिवेशनको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्। माझी र घिमिरे डा. शेखर कोइराला निकट नेताका रूपमा चिनिन्छन्।

पार्टीभित्रको समीकरणबारे चर्चा गर्दै थापा निकट स्रोतले विष्ट वा राईमध्ये एकलाई सभापति गगन थापाको समर्थन रहने दाबी गरेको छ। यद्यपि यस्तो दाबीको औपचारिक पुष्टि भने भएको छैन।

यसैबीच, मोरङ कांग्रेसमा ललितबहादुर श्रेष्ठको राजनीतिक प्रभाव र लोकप्रियतालाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ। श्रेष्ठको उम्मेदवारीले सभापतिको प्रतिस्पर्धामा नयाँ समीकरण बन्न सक्ने कांग्रेस वृत्तमा चर्चा छ।

१४औँ महाधिवेशनमा उपविजेता बनेका दिलीपकुमार गच्छदार पनि यसपटक अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने तयारीमा रहेको बताइन्छ। त्यस्तै, मोरङ–१ क्षेत्रीय समितिले ज्ञानेन्द्र ढकाललाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको चर्चा छ।

उपसभापतिको जिम्मेवारी सम्हालिरहेका भक्तिनाथ माझीका लागि सभापति पदमा दाबी गर्नु स्वाभाविक उत्तराधिकारीको दाबीका रूपमा हेरिएको छ। दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालिसकेका मोदराज घिमिरे पनि सभापतिको दौडमा छन्।

नेपाली कांग्रेसको सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। दुईभन्दा बढी उम्मेदवारबीच पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पहिलो र दोस्रो स्थानमा रहने उम्मेदवारबीच दोस्रो चरणमा पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ।