धनपालथानमा खोरेत रोगविरुद्ध निःशुल्क खोप शुभारम्भ ।

धनपालथानमा खोरेत रोगविरुद्ध निःशुल्क खोप शुभारम्भ ।

बिराटनगर ।“गाई भैँसीहरूमा खोरेत रोगविरुद्धको खोप लगाऔँ, पशुजन्य पदार्थ निर्यातमा टेवा पुर्‍याई कृषकहरूलाई आर्थिक रूपमा समृद्ध बनाऔँ” भन्ने नाराका साथ धनपालथान गाउँपालिकामा खोरेत रोगविरुद्धको निःशुल्क खोप कार्यक्रम शुभारम्भ गरिएको छ।
२०८३ असोज १५ गते धनपालथान गाउँपालिका–६, कदमाहस्थित निकेतन कृषि फार्ममा आयोजित कार्यक्रममार्फत खोप अभियानको शुभारम्भ गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि धनपालथान गाउँपालिका–६ का वडा अध्यक्ष मोहम्मद हुसेन रोजित रहनुभएको थियो। कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, विराटनगरका अधिकृत रामबहादुर शाहको समेत उपस्थिति रहेको थियो।

खोरेत रोगबाट पशुधनलाई सुरक्षित राख्दै कृषकको आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त खोप अभियान २०८३ असोज १५ गतेदेखि २०८३ कार्तिक १५ गतेसम्म धनपालथान गाउँपालिकाका ७ वटै वडामा सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रमका क्रममा धनपालथान गाउँपालिका पशु पन्छी सेवा शाखाका नायब पशु प्राविधिक शिव कुमार रायले अभियानअन्तर्गत नियुक्त भएका खोपकर्ता (Vaccinator) हरू सम्बन्धित वडामा पुगेर गाई, भैँसीलगायत पशुहरूलाई खोरेत रोगविरुद्धको खोप लगाउने जानकारी दिनुभयो।

खोरेत रोग नियन्त्रण तथा पशुधन संरक्षणका लागि कृषकहरूले आफ्ना गाई–भैँसीलाई अनिवार्य रूपमा खोप लगाई अभियानलाई सफल बनाउन सहयोग गर्न पशु पन्छी सेवा शाखाले आग्रह गरेको छ।