किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश।
कोशी आवाज २०८३ श्रावण २९ गते शुक्रबार ।
बिराटनगर । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो।
प्रहरीले श्रेष्ठलाई साउन २७ गते राति पक्राउ गरेको थियो। पक्राउपछि उनको घरमा छापा मारेर ल्यापटपलगायत महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ।
श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई तीन दिनको म्याद थप गरेको थियो।
श्रेष्ठ हाल जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन्। रिटमा काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर, भद्रकालीलाई विपक्षी बनाइएको छ।